काठमाडौ ६ गते । रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा बा४ख४२१० नम्बर अरनिको यातायातको सुपर बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। घाइते हुनेहरूमा रामेछाप जिल्लाका निरोज भुजेल, गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन्।
त्यसैगरी ओखलढुंगाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारू रहेका छन ।
घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ। ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बस मन्थलीमा दुर्घटना भएको हो । बसमा एक्कासि ब्रेक फेल भएपछि चालकले दुर्घटना हुनबाट जोगाउन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए। बस दुर्घटना हुनबाट जोगाउन गल्छीमा उकाल्दा बस पल्टिएको थियो। बस पल्टिने क्रममा कार्कीलाई बसले किचेपछि घटनास्थलमै मृत्यु भएको थियो।