उखान-टुक्का मागपत्र - Akhabaronline
साहित्य

उखान-टुक्का मागपत्र

लेखेँ पत्र नयाँ उखानपुरको हावा चलेको दिन
आयो रे बहुमुल्य वाइड बडी आएन टुक्का किन
टुक्काले जनता र राज्यबिचको पर्दा हटाई दिनू
टुक्काको छ अभाव गाउँघरमा टुक्का पठाई दिनू
।१।
छैनन् गर्भवती तमाम तुहिए बाली सुकी खेतमा
भो आन्दोलन भोकको जुलुस जो आन्द्रा कुदी पेटमा
टुक्का पस्किन पक्षपात नगरी टोली खटाई दिनू
थोत्रा हैन नयाँ नयाँ र रसिला टुक्का पठाई दिनू
।२।
जाडो दुश्मनले सयौं मुटुहरू भेला गर्‍यो घाटमा
छाती घोच्छ पिरोल्छ शीतलहरी हेमन्तको रातमा
टुक्का एक उनेर शीतलहरी जाडो घटाई दिनू
बिन्ती गर्छु नवीन हास्यरसका टुक्का पठाई दिनू
।३।
टुक्काले बल दिन्छ रे मुटुहरू काँप्दै बने दुर्बल
टुक्का चामल बन्छ रे सकसभै आन्द्रा बजेका पल
टुक्काले पथ बिर्सिए यदि भने बाटो बताई दिनू
गाह्रो भो अब धान्न जीवन यता टुक्का पठाई दिनू
।४।
हेर्छन् आँगनमा बसी युग नयाँ मेची र काली जन
टुक्का साथ उखानमा भुलिदिने अभ्यस्त भो जीवन
हेर्दै मन्द छ रेल तेल गति जो हल्का बढाई दिनू
लाखौं लाख तिखा नवीन युगका टुक्का पठाई दिनू
।५।
छन्द : शार्दूलविक्रीडित
रचनाकार : हिरा भट्ट
जन्मस्थल  :पञ्चेश्वर(६,बिजुल,बैतडी

Related Articles

Back to top button