कसरी थाहा पाउने ‘हार्ट अट्याक’ र ‘प्यानिक अट्याक’?? - Akhabaronline
स्वास्थ्य

कसरी थाहा पाउने ‘हार्ट अट्याक’ र ‘प्यानिक अट्याक’??

एक्कासी तपाईंको मुटुको धड्कन बढ्न थाल्यो र छातीमा पीडा महसुस गर्नुभयो अनि सास लिन पनि कठिन हुँदै गयो।

सामान्यतया हार्ट अट्याक र प्यानिक अट्याकको सुरुवाती लक्षण उस्तै हुन्छन्।

सहरी जीवनशैली, अस्वस्थ खानेकुरा, धुमपान तथा मदिराको सेवन र शारिरीक व्यायामको कमी लगायतका कारण धेरै मानिसले मुटुसम्बन्धी समस्या झेलिरहेको पाइन्छ।

अनि तीव्र प्रतिस्पर्धा, नकारात्मक सोंच, मानिसको बढ्दो आकांक्षालगायतका कारण धेरै मानिस विभिन्न किसिमका मानसिक रोगको शिकार भइरहेका छन् जसमध्ये प्यानिक अट्याक पनि एक हो।

विल्कुलै भिन्न कारणले प्यानिक अट्याक तथा हार्ट अट्याक आउने भए पनि सुरुवाती लक्षण हेर्दा यी दुइबीच भिन्नतालाई तत्कालै छुट्याउन सकिँदैन।

गलत समयमा स्ट्रेसहर्मोन (तनाव वा संकटपूर्ण अवस्थामा दिमागमा उत्पादन हुने रसायन) श्रृजना हुँदा प्यानिक अट्याक भएर मानिसले मुटुको ढुकढुकी बढेको, छाती दुखेको वा भारी भएको तथा सास फेर्न गाह्रो भएको लगायतको समस्या महसुस गर्दछन्।

उता मुटुको धमनीमा अवरोध आइ हृदयले राम्रोसँग शरीरभरि रक्तसञ्चार गर्न नसक्दा हार्ट अट्याक हुने गर्दछ जसको लक्षण पनि प्यानिक अट्याककै जस्तो हुन्छ।

यी दुईबीचको सबैभन्दा ठूलो भिन्नता प्यानिक अट्याक प्रायःजसो आरामको अवस्थामा आउने गर्दछ भने, हार्ट अट्याक सामान्य वा कठिन शारिरीक परिश्रम गरिरहेको अवस्थामा आउँछ जस्तै खेलकुदका बेला, भ¥याङ्ग चढ्दा लगायत।

अर्को भिन्नता भनेको यिनीहरूको अवधी पनि हो।

प्यानिक अट्याक सामान्यता १० देखि २० मिनेटभित्र आफै कम हुँदै जान्छ। अनि मानिस सामान्य अवस्थामा फर्कनसक्छ तर हार्ट अट्याकका लक्षणहरू बिस्तारै तीब्र हुन्छ र समयमै उपचार नपाएको अवस्थामा मानिसको मृत्यु पनि हुनसक्छ।

हार्ट अट्याक भएका ब्यक्तिहरूले बान्ता आउला जस्तो, खोकी लाग्ने लगायत महसुस गर्दछन्। यसैगरी हार्ट अट्याकमा छातीको दुखाइ क्रमश काँध, कुइना तथा बंगारातर्फ सर्छ।

तर प्यानिक अट्याकमा भने यस्ता लक्षण देखिँदैन। बरु यस्तो अट्याक हुँदा मानिसले कान, पैताला वा तालु तात्ने, पेटमा दबाब हुने तथा स्मृती एवं दिमाग कमजोर भएको महसुस गर्छन्।

Related Articles

Back to top button