काठमाडौं २१ श्रावण । काठमाडौको काँडाघारीबाट सिन्धुपाल्चोका निशान खडकालाई अपहरण गरेको आशंकामा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये एकजना महिला रहेकी छन् । प्रहरीले नजिककै आफन्तबाट अपहरण गरिएको हुन सक्ने आशंका गरेको छ ।
निशान खड्का आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन । अपहरणमा परेपछि लगत्तै अपहरणकारीले ४० लाख फिरौती माग गर्दै टेलिफोन गरेको प्रहरीले परिवारलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
बुबा रोजगारीको सिलसिलामा मलेसियामा र आमाले सामान्य चिया पसल सञ्चालन गर्ने गरेको पाइएको छ । निशान काठमाडौंमा आमासँगै बस्थे । उनी कक्षा ६ मा अध्ययनरत भएको बताइएको छ ।
“४० लाख फिरौती माग गरेको पाइएको छ,” अपराध महाशाखाका एसएसपी सिंहले भने । उनका अनुसार अहिले काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरीले उनको खोजी जारी राखेको छ ।