कांग्रेसका पूर्व सांसद नेकपामा प्रवेश, ओलीले गरे स्वागत
काठमाडौं ६ माघ । नेपाली कांग्रेसका पूर्वसांसद् तीर्थ भुषाल नेकपा प्रवेश गरेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुषाललाई पार्टी प्रवेश गराएका हुन् ।
०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी कांग्रेस चितवनका पूर्वजिल्ला सभापति हुन् । पार्टी प्रवेश गदै उनले नेकपाले मात्रै अब जनताको मुक्तिको सपना पूरा गर्ने र देशको विकास पनि गर्ने बताए ।
उनले नेपालमा अहिले नेकपाको शक्तिशाली सरकार रहेको र उसलाई कसैले केही डगमगाउन नसक्ने भन्दै आफू रहेको पूर्ववत पार्टीलाई पनि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे।
कांग्रेस सरकारविरुद्ध आन्दोलनमा जाने बताइरहेका बेला कांग्रेसबाट पूर्वसांसद समेत रहेका भुषालले सरकारलाई जुनकुनै दलले पनि भित्र बाहिर सबैतिरबाट सहयोग गरेर देशको विकासमा साथ दिनुपर्ने धारणा राखे ।
‘नेपालमा अहिले शक्तिशाली सरकार छ । मैले हिजो जुन पार्टीमा काम गरे, तिनलाई पनि यो सरकारलाई भित्र÷बाहिर जाहाबाट भएपनि सहयोग गरेर नेपाल निर्माणमा एकजुट भएर लाग्न आग्रह गर्छु ,’ धुम्बराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा भुषालले भने ।
भुषाललाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले नेकपा बुझ्नेलाई श्रीखण्ड भएको बताएका छन्। नेकपा खुइलियो भन्नेको हेर्ने चश्मा नै दोषी भएको उनको भनाइ छ। उनले दोष लगाउनुअघि चश्मा सफा गरेर मात्र हेर्न आग्रहसमेत गरेको अन्नपूर्ण पोष्टमा समाचार छ ।