कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन् । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यटनसँगै कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गरे ।
बुधबार राष्ट्रिय पत्रकार संगठन ९नाटोज० को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’
विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको बताए ।जोखिमयुक्त पर्यटन क्षेत्रहरुमा सञ्चारको पहुँच नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रहरुमा सञ्चारको पहुँच पुर्याउन सरकार क्रियाशिल रहेको समेत उल्लेख गरे । ‘जोखिमयुक्त क्षेत्रमा सञ्चारको पहुँच नहुँदा पर्यटकहरुले सास्ती भोग्नु परेको छ । कतिपय अवस्थामा दुर्घटना हुँदा सञ्चारकै अभावले क्षति व्यहोर्नु परेको अवस्था छ । ‘यसतर्फ सरकार सचेत छ’, बस्नेतले थपे, ‘टेलिकम क्षेत्रमा रहेका समस्या समाधानका लागि केहि दिनमै बृहद् गोष्टी हुँदैछ । क्षेत्रमा रहेका समस्याबारे जानकारी गराउनुस्, म समाधान गर्न तयार छु ।’
मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने पर्यटन क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने मन्त्री बस्नेतको भनाई थियो । उनले सरकारी कार्यालयहरुमा कामकारबाही ढिलो हुने गरेको गुनासो प्राप्त हुने गरेको भन्दै त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए । प्रक्रियाबाट आएका काम २४ घण्टा पनि नभए आफूलाई जानकारी गराउन आग्रह समेत मन्त्री बस्नेतले गरे ।
सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन र सूचनालाई सँगसँगै अघि बढाइनु पर्ने भन्दै अहिले पनि पर्यटन क्षेत्रमा विभिन्न खालका समस्या रहेको बताए । अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या निराकरणको लागि सरकारको ध्यानाकर्षण समेत गराए । कार्यक्रममा अधिकारीले नाटोजको विराटनगर र चितवन च्याम्टरको घोषणा समेत गरेका थिए ।
सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र ररातोपाटीका पत्रकार राजकुमार सिग्देललाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । १० हजार राशिको उक्त पुस्कार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो ।