गलेश्वर, २ माघ । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गर्नुभएको छ । साथै उनले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु दुई लाखभन्दा बढी कमाइ गर्दै आएका छन ।
रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आएकी २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक दुई लाखभन्दा बढी कमाइ गर्न सफल भएकी छन । थापाले विगत छ वर्षदेखि गाउँमानै विद्युतीय सामानको मर्मत र बिक्री गर्दै आएकी थिइन । चार महीना अघि गत असोजदेखि उनले सोही ठाउँमा मासु पसल पनि सञ्चालन गर्न थालेपछि उनले आफ्नै घरमा बसीबसी मनग्य आम्दानी गर्न सफल भएको हो ।
त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा, बाख्रा र हाँस पनि पाल्नुभएको छ । खोरमा ५०० कुखुरा, १५ वटा बाख्रा र हाँस छन् । त्यसको रेखदेखसाथै मोबाइल, टिभी र अन्य विद्युतीय सामानको मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल शुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।
घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उनको व्यवस्तता झन बढेर गएको छ । “हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ”, थापाले भनिन, “समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।”
AKHABAR ONLINE TV
https://www.youtube.com/watch?v=4Q7gtHFgv_c