गुमनाम रहेकी गायिका विष्णु माझी प्रहरी प्रमुख खोज्दै प्रहरी कार्यालय पुगिन, ११ वर्षपछि भेटे बाबुले छोरी - Akhabaronline
समाचार

गुमनाम रहेकी गायिका विष्णु माझी प्रहरी प्रमुख खोज्दै प्रहरी कार्यालय पुगिन, ११ वर्षपछि भेटे बाबुले छोरी

 

स्याङ्जा २३ पुस । आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।

आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी लोक तथा दोहोरी गायिका विष्णु माझी । उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै ट्याक्सीमा आएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन मानेनन् ।

दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी थिइन् भने उनीभन्दा अघिअघि हिँड्ने उनकै श्रीमान् सुन्दरमणि अधिकारी। कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन्।
विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्। एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘सुन्दरमणिलाई बिहीबार फोन गरेको थिएँ’ एसपी लम्सालले भने, ‘विष्णुजी आउनुहुन्छ कि तपाईँले ल्याउनुहुन्छरु यदि तपाईँले नल्याए हामीले ल्याउनु पर्ने हुन्छ भनेको थिएँ। सुन्दरमणिले शुक्रबार र शनिबार व्यस्त भएकाले आइतबार आउने वचन दिएका थिए, आए।ु कान्तिपुरले समाचारमा विष्णु गुमनाम रहेको र बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको उल्लेख गरेको थियो। कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

त्यहाँ आउनुअघि नै मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालले भने, ‘विष्णुजी त्यति खुल्नु भएन। गाउँले भाषामा नै केही थोरै जवाफ मात्र दिनुभयो। सुन्दरमणिले भने अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो।’

विदेश यात्रामा किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताएका थिए। ुकतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ। लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन्। उनी सामान्य लेखपढ गरेकी केटी हुन्। बोल्न जान्दिनन्। लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ’ सुन्दरमणिको भनाइउद्धृत गर्दै एसपी लम्सालले भने। कान्तिपुर दैनिकबाट

AKHABAR ONLINE TV 

Related Articles

Back to top button