घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग
काठमाडौँ, १९ साउन । अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ ।
पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो ।
गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन ग¥यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मितिसमेत तय गरेको हो ।
‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग ‘रेलिगेसन’ बिनाको हुनेछ । असोज १३ देखि माघ १६ सम्म हुने लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती, च्यासल, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, विभागीय टोली त्रिभुवन आर्मी, पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । खेलाडी दर्ता आगामी १५ भदौबाट शुरु हुनेछ ।