चलचित्र ‘रोजी’ को ‘फूल होइन’ गीत सार्वजनिक, गीतमा प्रदिप र मिरुनाको रोमान्स छचल्कियो
काठमाडौं २१ श्रावण । प्रदीप खड्का स्टार फिल्म ‘रोजी’ को गीत सोमबार रिलिज भएको छ। फिल्ममा समावेश ‘फूल होइन’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतमा एलिश कार्कीको संगीत, राजेशकुमार श्रेष्ठको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार प्रदीप खड्का र मिरुना मगर फिचरिङ छन्। सुन्दर लोकेशनमा खिचिएको भिडियोमा प्रदीप र मिरुनाको जोडी सुहाएको देखिन्छ।
भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ। ‘गोपीकृष्ण मुभिज’ को व्यानरमा निर्माण भएको चलचित्र ‘रोजी’ लाई निरक पौडेलले निर्देशन गरेका छन्। उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा आर्या पौडेल र आरोही केसी निर्माताको रुपमा रहेका छन्।
भदौ २२ गतेलाई प्रदर्शन मिति तय गरेको यस फिल्ममा प्रदीप र मिरुनासँगै परमिता राज्यलक्ष्मी राणा, कर्माको पनि मुख्य भूमिका रहेको छ। फिल्मको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा संवाद केदार भुसालले तयार पारेका छन्।