चौतारीमा चिसो हावा खाउँला - Akhabaronline
साहित्य

चौतारीमा चिसो हावा खाउँला

बेद प्रसाद घिमिरे

कविता

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ
प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला
बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।

हेर्दा मनै लोभ्याउने खिजि फलाटे बजार
थोलेडाँडाको डिलबाट लगाउँला नजर ।

आफ्नै गाउँको खोलाबाट बिजुली बलेको
खिजिदेम्बामा खेतिपाती नामै छ चलेको ।।

बारी भरि सुन्तला छन् पहेँलै पाकेको
हेर्न मन लागेको छ मायाले चाखेको ।

मह भिरमा माहुरीको घार झुलेको छ
बनै भरि लालीगुराँस फूल फुलेको छ ।।

दुग्देश्वर मन्दिर जाउँला दर्शन गरौंला
मनोरम दृश्य हेर्दै ओराली झरौंला ।

चम्पादेबि साक्षी राखि पिरति गासौंला
झ्याउरे र पन्चेबाजा तालैमा नाचौँला ।।

रगनि, तोपडाँडा, चप्लेटि,धारापानी
घुमौला नि सँग सँगै मेरी दिलकी रानी ।

सुन जस्तै धान फल्ने बेसिफाँट हेरौला
पोकली झरना घुम्दै मायाले बेरौला ।।

टापू गाउँको चौतारीमा चिसो हावा खाउँला
चखेवाको जोडी जस्तै बनेर रमाउँला ।

बेद प्रसाद घिमिरे
खिजिदेम्बा गाउँपालिका वडा न (२

Related Articles

Back to top button