धनकुटा १८ माघ । धनकुटाको हिलेमा हत्या गरिएका रामबाबु चौधरीको हत्यामा संलग्न दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले हत्या संलग्न रहेको आरोपमा सुनसरीको इटहरी नगरपालिका १५ बस्ने मृतककी श्रीमती वर्ष २९ की प्रिया चौधरी र धनकुटाको साँगुरीगढी गाउँपालिका ९ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बस्ने वर्ष ३१ को सविन राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
चौधरीको गत कात्तिक १७ गते धनकुटा नगरपालिका १ हिलेस्थितमा लागेको मिनी मेलामा हत्या गरिएको थियो । मृतक रामबाबु की श्रीमती प्रिया र सबिनको प्रेम सम्बन्धको कारण हत्या भएको खुल्न आएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। मृतक चौधरीकी श्रीमती प्रियाको योजनामा उनीसँग सम्पर्कमा रहेका राईले घटना घटाएको खुल्न आएको प्रहरीको भनाई छ।
गत कात्तिक १७ गते हिलेमा लागेको मिनी मेलाभित्र सुतेका चौधरीको धारीलो हतियारले घाँटी, छाती र हातका औँला काटी मेलाभित्र सटेज छेउमा हत्या भएको थियो।