गोरखा ९, पुस । चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिए । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिए ।
आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको छ । उच्च हिमाली क्षेत्र र तिब्र गतिको हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख नरेन्द्र लामाले बताए ।
उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्नि रेखा बनाउने काम भइरहेको छ वडाध्यक्ष बिर बहादुर लामाले आगो नियन्त्रणका लागी उचित पहल नभएको बताए बताइएको छ । “अब सामान्य हिसावले आगो निभाउन सक्ने कुनै संभावना नै छैन”, उनले भने , “हेलिकप्टरबाट पानी हाल्न सकेको खण्डमा मात्र आगो नियन्त्रणमा आउन सक्छ ।”
प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आगो नियन्त्रणका लागि पहल गरी दिन गृहमन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो । सकेसम्म सेनाको हेलिकप्टर प्रयोग गरेर आगो नियन्त्रणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । आगो नियन्त्रणमा नआए एउटा गुम्बा जोखिममा पर्नसक्ने बताइएको छ ।