काठमाडौ १४ माघ । टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएपछि मोरसोमबार बिहानदेखि नै मोरङको विराटचोक तनावग्रस्त बनेको छ । गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले सुन्दर हरैंचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्युभएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिपरसहित अन्य ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो। आगो निभाउन पुगेका दमकललाई समेत स्थानीयवासीले अवरोध गरेपछि दमकल फर्किएका थिए।
स्थानीयबासीले अवरोध खडा गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षीणमा बेलेपुर क्षेत्रको बीच भागमा ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
निषेधाज्ञा जारी भएपनि आक्रोशित समूह बालिकाको शव सडकमै राखेर धर्नामा बसेका छन। त्यस क्षेत्रका स्थानीयवासीले विगतमा पटकपटक टिपर सञ्चालनमा रोक लगाउनुपर्ने माग राख्दै आएपनि स्थानीय प्रशासन र स्थानीय तहले अटेर गर्दै आएका थिए। त्यस क्षेत्रका अधिकांश जनप्रतिनिधि क्रसर उद्योग र टिपर व्यवसायी भएकै कारण स्थानीयको माग सुनुवाइ हुन सकेको थिएन।