टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
काठमाडौ ७ कात्र्तिक । नेपाल टेलिकमले मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा कार्तिक ८ गते (मंगलरबार) देखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।
यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने छ । प्रति सन्देश ५० पैसा शुल्क लाग्नेछ ।
यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १ हजार रुपैयाँ लाग्नेछ । त्यसैगरी २ हजार ५ सयमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने र ५ हजारमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने छ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग हुने यो प्याकेजमा कर समावेश छैन ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले जनाएको छ ।
सामुहिक सन्देश सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ । कम्पनीले ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।