विलासपुरमा टाल्दैछु नाना यता - Akhabaronline
साहित्य

विलासपुरमा टाल्दैछु नाना यता

मेरो भोट लुछी मुछी पलकमै तर्केर टाढा गयौ
कुर्सीपान गरी विलासपुरमा हेर्दै विलासी भयौ
आन्द्रा बज्दछ नित्य कल्कल गरी को बुझ्छ मेरो व्यथा
बाजे के छ त्यता विलासपुरमा भोकै छ आन्द्रा यता
।१।
जस्ता कर्कट दिन्न साहु निठुरी ती घोषणापत्रमा
बर्षौ बर्ष सहीरहेँ कहर जो उस्तै छ यो सत्रमा
छानोले जल छ्याप्छ आङ चिसियो निद्रा भयो बेपता
काका के छ त्यता विलासपुरमा ? बग्दैछ छानो यता
।२।
झिल्के वस्त्र उषा र छिद्र दिउँसो झन् साँझ किर्के छ रे
लाखौं हैन करोड पर्छ महँगो फेर्छौ पजेरो अरे
मेरो लाज नियाल्छ रुष्ट रविले लुक्दै म जाऊँ कता
दाजै के छ ?त्यता विलासपुरमा टाल्दैछु नाना यता
।३।
छैनन् वैद्य न अस्पताल घरमै भेट्ने भए आउनू
सारङ्गीसरि पेट बज्दछ अझै रेट्ने भए आउनू
आँखा रुन्छ स्वयं झरेर गहमा को सुन्छ मेरो कथा
कान्छा के छ त्यता विलासपुरमा बर्सिन्छ आँखा यता
।४।
हेर्दै दर्पणमा उनेर कविले जो शब्दमाला दियो
कर्णाली डिलमा बसेर कविता भन्दै थियो रेडियो
ब्याट्री तागत सिध्दियो सँगसँगै भो बन्द झन् गुन्जन
कर्णाली जलमा अझै बगिरह्यो शार्दूल जस्तै धुन
।५।
छन्द : शार्दूलविक्रीडित
रचनाकार : हिरा भट्ट
जन्मस्थल पञ्चेश्वर : ,बिजुल,बैतडी

Related Articles

Back to top button