दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति - Akhabaronline
मुख्य खबरसमाचार

दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति

काठमाडौँ १३ कात्र्तिक । दार्चुला पारी भारतीय कम्पनीले सडक निर्माण गर्ने क्रममा उछिटिएको ढुंगाले लागेर मृत्यु भएका बालकको परिवारलाई क्षतिपूर्ती दिएको छ । भारतीय निर्माण कम्पनी गर्ग एण्ड गर्ग कम्पनीले दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक विस्तारका क्रममा ब्यालेसिट पटकाउदा उछिटिएको ढुंगाले लागेर दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङका का १२ वर्षीय पवन महराको मृत्यु भएको थियो । निर्माण कम्पनीले आफुनो गल्ती स्वीकार्दै मृतकका परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको हो ।

गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना भएको हो । मृतक बालकका बुबा हिक्मतका अनुसार गए राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेको हिक्मतले जानकारी दिए । घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको थियो ।

 

Related Articles

Back to top button