काठमाडौं १९ बैशाख । दार्चुलाको हिमाली क्षेत्रमा हिमपहिरो आएको छ। हिम पहिरोमा ४ जना बेपत्ता र एक जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले यार्सागुम्बा संकलन गर्न गएका ४ जना मानिस हिम पहिरोमा परेको जानकारी दिए। उनले स्थानीयहरुबाट ४ जना बेपत्ता र एकजना घाइते भएको खबर आएको बताए।
मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरो आएको हो। अहिले छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं। गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपसिंह धामीका अनुसार यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको खबर आएको छ।
‘हिम पहिरो आएको खबरपछि उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको छ,’ उनले भने, ‘दुईरतीन घण्टाभित्रै त्यहाँ पुगेपछि घटनाबारे थप जानकारी हुनेछ।
टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाने गर्छन्। फर्किँदा दुर्घटनामा परेको खबर आएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।
उनले ३र४ दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको जानकारी दिए। ‘एक–दुई फिट हिउँ जमेको छ,’ उनले भने, ‘सदरमुकामबाट वस्तुभाउ लगेर छाङरु, तिंकर हिँडेकाहरु पनि हिमपातले बाटोमै रोकिएका छन्।’