काठमाडौ ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणामा अनुसन्धान गरिरहेको प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाउने भएको छ ।
पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग बयान तथा सोधपुछको आधारमा प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। प्रहरीले आरोपीसँग २६ करोड ८८लाख बिगो कायम गरी मुद्दा दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ । साथै आरोपीविरुद्ध राज्यविरुद्धको अपराध संगठित अपराध ठगी तथा किर्तेमा मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्ने तयारी गरेको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ५७ दिनदेखि अनुसन्धान गरिरहेको छ ।
बुुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नु पर्ने हदम्याद भएपछि सरकारी वकिलको कार्यालयले शनिबार पनि दुई आरोपिसँग बयान लिएको थियो । पछिल्लो पटक पक्राउ परेका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसँग बयान लिएको सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यैपानेले जानकारी दिए ।
नक्कली शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पुर्वगृहमन्त्री बलकृष्ण खाण,नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,गृहमन्त्रीका पूर्व सल्लाहकार इन्द्रजित राईलगायत १६जना प्रक्राउ परेका छन् भने १४ जना फरार रहेको प्रहरीको भनाइ छ ।