नागरिक्ता पाएको खुसि
-प्रेम राइ ‘परीक्षित’
बुवा भन्नुस न
मेरो नागरिक्ता अब के हुन्छ ?
अनि सोह्र बर्ष पुगेर
बल्ल बल्ल नागरिक भएको म
मेरो चरित्र के हुन्छ ?
किनभने
मलाई नागरिक्ता दिने हाकिम साबलाई
हत्कडी लगाइयो रे !
अनागरिकलाई नागरिक बनाउने
भ्रष्टाचारमा जेल चलान गरियो रे !
बुवा।।१
जीवनमा कहिल्यै नलागेको दाग
ग्रहण झै मलाई खाइरहेकोछ
अनागरिक हुदा म हिउँ झै कन्चन मेरो इमानमा
आज कालो कलङ्क लागेको छ
भन्नुस न बुवा !
हाकिम साब त अयोग्य भै सके
उनले हस्ताक्षर गरेको नागरिक्ता बोकेर हिड्ने म
योग्य नागरिक हुन्छु कि हुन्न ?
हाकिम साबले भनेथे
अब भोलिबाट तिमी सार्बभौम भयौ
रोजेको जागिर खान सक्ने छौ अब तिमीले
बधाई छ नानी तिमीलाई
धाप मारेथे हाकिम साब ले
बुवा भन्नुहोस न मलाई
बेईमानहरुको हस्ताक्षर चल्छ चल्दैन ?
भ्रष्टचारीले दिएको प्रमाण पत्र
सदाचारी हुन्छ कि हुदैन ?
जेल भित्रको एक कैदीले
दिएको प्रमाण पत्रले
म सार्बभौम हुन्छु कि हुन्न बुवा ?
तपाईं मेरी आमा अनि दाजु दिदिहरु
र भाइ बहिनीहरुको ईमान
अब पहिला झै ठडिन्छ कि ठडिदैन ?
मोसो लगाएको नागरिक्तामा
एउटा नागरिक उन्मुक्त हास्न सक्छ सक्तैन ?
भनिदिनुस बुवा।।।!
नागरिक्ता पाएको खुसिमा
आज म उत्सब मनाउ कि नमनाउँ!!!
AKHABAR ONLINE TV