काठमाडौं २५ पुस । नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ। निगमले पुस १८ मा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान दुई रुपैयाँ घटाएर पेट्रोल १०८ र डिजेल तथा मट्टीतेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ। उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा एक अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो। १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो।
आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको मूल्य भने निकै कम घटाइएको छ। आइओसीले कात्तिक १५ मा पेट्रोल ६७ रुपैयाँ ९३ पैसा प्रतिलिटरमा निगमलाई बिक्री गरेको थियो। त्यसको दुई महिनापछि कात्तिक १७ मा पेट्रोल प्रतिलिटर २१।७४ रुपैयाँ घटाएर ४६।१८ रुपैयाँमा दिएको छ । डिजेल ७२।८० रुपैयाँबाट १८ रुपैयाँ घटाई ५४।७५ रुपैयाँ प्रतिलिरटमा दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
मट्टीतेल प्रतिलिटर ७७।१२ रुपैयाँबाट १९।८४ घटाई ५७।२८ रुपैयाँमा दिएको छ। तर, निगमले यसबीचमा नेपाली बजारमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा तीनपटक गरी ६–६ रुपैयाँ मात्र घटाएको छ।