नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस् - Akhabaronline
समाचार

नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस्

ओली सरकारलाई बिराटनगरबाट एकजना उपसचिवले कडा चुनौती दिएका छन् । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका ती उपसचिवले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई हाँक दिएका हुन् । उपसचिवले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए ।

‘नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस्, जसले प्रेम सञ्जेललाई घुस खुवाएँ भन्न सकोस्,’ आक्रोशित हुँदै ती उपसचिवले भने, ‘कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !’

उपसचिव प्रेम सञ्जेल यत्तिमै रोकिएनन् । थपे– ‘मैले यहाँ लल्कारेर भन्छु, रंगशालामा आउनुस् । प्रेम सञ्जेललाई ४० वर्षको अवधिमा कहाँकहाँ म्यानुपुलेट गरियो ? कहाँ घुस खुवाइयो ?’

सञ्जेल गत असोज २५ गतेसम्म निर्वाचन कार्यालय मोरङमा कार्यरत थिए । असोज २५ गते उनी निर्वाचन कार्यालयबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भए ।

श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले शुक्रबार सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।

वैदेशिक श्रम स्वीकृतिमा घुस खान पाइँदैन भनेर आफूलाई सरुवा गरिएको सञ्जेलले दाबी गरे । आफ्नो सरुवा बदनियतपूर्ण भएको भन्दै उनले श्रममन्त्री गोकर्ण विष्ट र सरुवाको पूर्जी दिने सचिव महेश दहालले यसको जवाफ दिनुपर्ने बताए ।

निजामती कर्मचारी ऐन ०४९ र नियमावली ०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारणबिना दुई वर्ष नपुग्दै सरुवा गर्न नपाइने उनले बताए । आफूलाई कारण नखुलाई सरुवा गरिएको भन्दै उनले यसको कानुनी उपचारसमेत खोज्ने बताए ।

उनले जिल्लाबाट श्रम स्वीकृति दिँदा भष्टाचार हुने भएकाले केन्द्रबाट अस्वीकृत भएका व्यक्तिको विवरण माग सहित पत्र पठाएका थिए ।

हेर्नुहोस् उपसचिव सञ्जेलले मन्त्रालयका सचिवलाई लेखेको पत्र

Related Articles

Back to top button