नेपाल अन्तर्राष्ट्रिय ‘क्राइम सर्किट’, यसरी बन्छन योजना - Akhabaronline
समाचार

नेपाल अन्तर्राष्ट्रिय ‘क्राइम सर्किट’, यसरी बन्छन योजना

काठमाडौं,१७ साउन । सनम शाक्य हत्याकाण्ड तथा साढे ३३ किलो सुन तस्करी प्रकरण छानबिनका लागि गठित समितिले नेपाल अन्तर्राष्ट्रिय रूपमा नै ‘क्राइम सर्किट’ बनेको विश्लेषण गरेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करी मात्रै नभएर सिंगो अपराधमै नेपाल ‘सर्किट’ बन्न पुगेको विश्लेषणसहितको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

प्रतिवेदनमा नेपाल अपराधीको ‘सर्किट’ बन्न पुगेकाले अन्य देशको सहकार्यमा त्यस्ता अपराध नियन्त्रण गरी ‘क्राइम सर्किट’बाट मुुलुकलाई मुक्त गराउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

समितिको प्रतिवेदन ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आर्थिकलगायत सबै खालका अपराध नियन्त्रण गर्न गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई निर्देशन दिए । प्रतिवेदनमा संगठित सुन तस्करीको मुख्य कारक भारतीय बजार भएको र तस्करीका सुन अवैध रूपमा नेपाल, भारत, बंगालादेश र पाकिस्तानसम्म पुग्ने गरेको औंल्याइएको छ ।

प्रतिवेदनमा नेपालको सुन बजारलाई राज्यपक्षबाट नियमित नियमन गर्नसमेत सुझाइएको छ । नेपाली बजारमा अवैध सुनको जगजगी रहेको समेत प्रतिवेदनले औंल्याएको छ । हुन्डी व्यापारलाई पूर्ण रूपमा नियन्त्रण नगर्दासम्म सुन तस्करीको जालो तोड्न कठिन हुने प्रतिवेदनमा उल्लेख छ । विमानस्थलमा अत्यधिक समस्या रहेकाले बहुनिकायबीच समन्वय गरी विमानस्थललाई सुशासनयुक्त बनाउनुपर्ने आवश्यकतासमेत औल्याएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले सुन तस्करी र सनम हत्या प्रकरण गम्भीर खालको आर्थिक अपराध भएकाले उल्लेख गर्दै यस्ता आपराधिक घटना नियन्त्रण अत्यावश्यक रहेको बताए । सुरक्षा निकायले इमानदारीपूर्वक कार्यक्षेत्रमा खटिएर सबै प्रकारका अपराध नियन्त्रण गर्न सके मात्रै साख उँचो हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले छानबिन समितिको अनुसन्धानपछि सुन तस्करीको जालो तोडिएको उल्लेख गरे । सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको प्रतिवेदन ७ सय ५२ पृष्ठको छ । चार महिना लगाएर समितिले तयार पारेको प्रतिवेदनमा घटनाको विस्तृत विवरण, तथ्य, सम्भावनालगायत आगामी दिनमा सुन तस्करीका अतिरिक्त आर्थिक अपराध रोक्न चाल्नुपर्ने कदम सुझाइएको छ ।अन्नपूर्ण पोष्टमा खबर छ।

AKHABAR TV 

https://www.youtube.com/watch?v=WcVnwpOsOnY

Related Articles

Back to top button