खेलकुद
नेपाल आर्मी क्लब फाइनलमा
हेटौंडा ८ माघ । दोस्रो राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आर्मी क्लब प्रवेश गरेको छ। मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा वीएफसी चितवनको चुनौती ५–१ गोलअन्तरले पन्छाउँदै आर्मीले अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो।
आर्मीको जितमा विक्रम विसंखे नायक सावित भए। उनले आर्मीका लागि पाँचै गोल गरे। एकपक्षीय खेलको ११ औं मिनेटमा गोलका खाता खोलेका विक्रमले ३४ र ६१ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका विक्रम त्यति मै रोकिएनन्। उनले ७८ र ८० औं मिनेटमा गोल गर्दै पाँच गोल गरे। उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए।
चितवनको तर्फबाट एक मात्र सान्त्वना गोल सुनिल श्रेष्ठले गरे। आर्मीले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो।