ओखलढुंगा २४ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ओखलढुंगाको अधिवेशनको मिति तय भएको छ । नेविसंघका केन्द्रीय प्रतिनिधि पवन नेपालीको उपस्थितिमा बसेको बैठकमा छलफलपछि जिल्ला अधिवेशनको मिति तय भएको हो । तय गरिएको मिति अनुसार आगामी माघ ७ र ८ गते अधिवेशन हुने भएको छ ।
अधिवेशनको मिति नजिकिदै गर्दा जिल्लाका विद्यार्थी नेताहरु संगठन विस्तारमा ब्यापक लागि पर्दै आएका थिए । अहिले लिखु गाउपालिका बाहेकका सबै स्थानीय तहहरुमा समन्वय अधिवेशन सम्पन्न गरिसकेको छ । बैठकमा पौष २८ गते भित्र बाँकी रहेका स्कुल तथा क्याम्पस इकाइ र लिखु गाउपालिकाको समेत अधिवेशन सक्ने निर्णय भएको छ । सोही निर्णय अनुसार कार्यक्रम तय गरिएको नेविसंघ सिद्धिचरण नगरपालिका संयोजक सुजन दाहालले बताए ।
जिल्लाको प्राय सबै विद्यालयहरुमा संगठन विस्तार संगै ५ हजार सदस्यता प्रदान गरिएको नेविसंघ ओखलढुंगाका अध्यक्ष प्रदीप कुमार बाँनीयाले जानकारी दिए । जिल्लाका पाँच हजार विद्यार्थीहरुलाइ विस्तारै संगठीत गर्दै विद्यार्थीहरुको समग्र हक हित र अधिकार खोज्न सक्ने बनाउनुका साथै शैक्षिक क्षेत्रमा देखिएको विकृतिको अन्त्य गरी शैक्षिक सुधारमा लाग्ने बनाउनु नेविसंघको दायित्व भएको विद्यार्थी ननेता रोशन महतराले बताए ।
सिद्धिचरण नगरपालिकामा सुजन दाहाल चिशंखुगढी गाउपालिकामा कृष्ण घिमिरे, सुनकोशी गाउपालिकामा हवीन्द्र राई, खिजीदेम्बा गाउपालिकामा सुजन तामाङ, मोलुङ गाउपालिकामा विनोद पोखरेल, मानेभञ्ज्याङ गाउपालिकामा मेलीना राइ, चम्पादेवी गाउपालिकामा उत्तम फुयालको संयोजकत्वमा समन्वय समिति निर्माण गरिएको छ ।
गाउगाउमा नेविसंघ गठनसंगै स्थानीय तहको शैक्षिक अवस्था सुधारका लागि काम गरिने नेविसंघ क्षेत्र नम्बर १ का संयोजक गोविन्द कोइरालाले बताए । नेविसंघ केन्द्रले मंसिर २२ गतेभित्र देशभरका सबै माध्यामिक तथा उच्च माध्यामिक विद्यालय, मंसिर २५ भित्र स्थानीय तहको (गाउ नगर), पौष ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालय, पौष १४ भित्र सबै जिल्ला र पौष २० भित्र सबै प्रदेशको अधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो ।
लामो समय देखि संगठन विस्तार हुन नसकेको नेविसंघलाइ शसक्त बनाउन र आगामी दिनमा कांग्रेसको पक्षमा जनमत सृजना गर्न गाउगाउका विद्यालयस्तरको संगठन सुदृढिकरणमा जोड दिएको विद्यर्थाी नेताहरुले बताएका छन् ।