
–भीष्मराज ओझा
काठमाडौँ, ३ पुस । नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ ।
महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन ।
काङ्ग्रेस विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारी चयन प्रक्रियाबारे बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ । दुवै पक्षबीच ११ जना पदाधिकारी बनाउने सम्बन्धमा लगभग सहमति भए पनि चयन प्रक्रियाका बारेमा भने विवाद कायम छ ।
पार्टीमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाका बारेमा भएको विवादले महासमिति बैठक प्रभावित भएको छ । बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल समेत ओझेलमा परेको छ । मंसिर २९ गतेदेखि शुरु भएको महासमिति बैठकको उद्घाटन यही पुस १ गते भएको थियो ।