पर्यटन विकासमा अवैतनिक वाणिज्यदूतको भूमिका - Akhabaronline
पर्यटन

पर्यटन विकासमा अवैतनिक वाणिज्यदूतको भूमिका

काठमाडौँ, भदौ १२ गते । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल -टान० ले आइतबार यहाँ आयोजना गरेको ‘नेपालको पर्यटनमा अवैतनिक वाणिज्यदूतको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले हवाइसेवाको पहुँच नहुनु, राजनीतिक अस्थिरता र नेपालका बारेमा नकारात्मक प्रचार बढी हुने गरेकाले पर्यटन आगमनमा असर पर्ने गरेको भन्दै पर्यटन विकासका लागि कमी कमजोरी सच्याइ सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।
बेल्जियमका लागि अवैतनिक वाणिज्यदूत आङछिरिङ शेर्पाले द्विपक्षीय सम्बन्ध स्थापना, सांस्कृतिक आदानप्रदान, व्यापार अभिवृद्धि गर्ने आफ्नो दायित्व भए पनि पर्यटन प्रवद्र्धनका लागि आफूले देशका प्राकृतिक सौन्दर्य, साहसिक पदयात्रा र अद्वितीय पर्यटकीय सम्पदाका बारेमा जानकारी गराएको बताउनुभयो ।
पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत राजेन्द्र खेतानले पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डलाई सक्रिय बनाइ पर्यटन व्यवसायी संस्थाको पहलमा विदेशी दूतावाससँग समन्वय गर्न टोली गठन गर्नुपर्ने सुझाव दिनुभयो ।
लग्जम्बरका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले बेलाबखत पर्यटक आउने मुलुकका राष्ट्रले ‘ट्राभल एडभाइजरी’ जारी गर्ने हुँदा नेपालको अवस्थाको सत्यतथ्यको जानकारी समयमै गराउनसक्नुपर्ने धारणा राख्नुभयो ।
टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले वाणिज्यदूतसँग पर्यटन क्षेत्रलाई महत्व दिन आग्रह गर्दै नेपालको पदयात्रा र साहसिक पर्यटनको महत्वबारेमा अझ बढी प्रचारप्रसार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा चिलीका अवैतनिक वाणिज्यदूत वसन्त मिश्र, माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठ र युक्रेनका अवैतनिक वाणिज्यदूत करण वैद्यले नेपालको कम लगानीमा बढी प्रतिफल प्राप्त हुने आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन उद्योगका लागि सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

Related Articles

Back to top button