काठमाडौं ७ माघ । पूर्व गर्भनर डा तिलक रावल रिहाइ भएका छन । पोलिमर नोट घोटाला प्रकरणका आरोप लगेका रावल विशेष अदालतको थुनछेक बहसपछि १० लाख रुपैयाँ धरौटी बुझाएर साधरण तारेखमा रिहा भएका हुन । अदालतले थुनछेक बहसपछि रावलसंग १० लाख रुपैयाँ धरौटी माग गरेकामा साथमा लिएर आएको १० लाख रकम बुझाएपछि तारिखमा छुट दिएको विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो। सोही आधारमा विशेष अदालतले रावललाई थुनछेकका लागि अदालतमा बोलाएको हो।
नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको उजुरीको अनुसन्धानमा तीन जना दोषी देखिएका थिए।