सुर्खेत ५ माघ । भारतबाट तीन किलो सुन चोरी गरेर ल्याएको आरोपमा पक्राउ गरिएका दुई जनालाई करिब दुई साता बित्दा समेत प्रहरीले सार्वजनिक गरेको छैन। कालीकोटको नरहरिनाथ गाउँपालिका–९ गडेगाउँका ४७ वर्षीय मंगल शाही र उनकी श्रीमती सौभाग्यालाई प्रहरीले सुन तस्करीको आरोपमा गत पुस २४ गते पक्राउ गरेको थियो।
मंगल कालिकोटबाट र शौभाग्यलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरु पक्राउ परेसँगै नेपाली र भारतीय प्रहरीको संयुक्त टोली कालीकोट पुगेर शाही दम्पत्तिले भारतबाट चोरी गरेर ल्याएको तीन दशमलब ८७ केजी सुन र केही चाँदीसहित बरामद गरेको थियो। मंगलका आफन्तले प्रहरीले उक्त सुन आफ्नो घरबाट प्रहरीले बरामद गरेको दाबी गरेका छन्। तर, बरामद भएको सुनमध्ये आधा मात्र प्रहरीले बरामद गरेको सञ्चारमाध्यमलाई जानकारी दिएको ती व्यक्तिको दाबी छ। ‘उनले बैंग्लोरबाट ल्याएको तीन किलो सुन प्रहरीले मेरो घरबाट बरामद गरेको हो,’ मंलगलका आफन्तले भने, ‘तर प्रहरीले त्यसको आधा सुन मात्रै फेला परेको बताएको छ। कालीकोटबाट ल्याइएको सुन बाटैमा गायब गरिएको छ।’ यति धेरै परिमाणको सुन बरामद भए पनि प्रहरीले सार्वजनिक नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतको भूमिकामाथि नै शंका गर्न थालिएको छ।
‘घरेलु मदिरा बरामद गर्दा पत्रकार सम्मेलन गर्ने प्रहरीले सुन सार्वजनिक नगर्नु शंकास्पद नै छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले आक्रोस पोखे, ‘सुनबारेमा पत्रकार सम्मेलन नगर्नुको कारण प्रहरीले सुन लुकाएको पनि हुनसक्छ।’ मंगलका आफन्तका अनुसार प्रहरीले सुनसँगै २५ हजार अमेरिकी डलर समेत बरामद गरेको छ। तर, उक्त रकम सार्वजनिक गरिएको छैन। पक्राउ परेका शाहीका आफन्तले तीन किलो सुन बरामद भएको दाबी गरे पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमत्ति प्रमुख डिएसपी प्रदीपबहादुर बुढा क्षेत्रीले भने ६५० ग्राम सुन मात्र बरामद भएको थाहा खबरमा समाचार छ । ।
सुन बरामद भए पनि पत्रकार सम्मेलन गर्ने जिम्मेवारी आफ्नो नभएको उनको दाबी छ। उक्त घटनाबारे प्रदेश प्रहरीले जानकारी दिनुपर्ने प्रष्ट्याए। स्थानीयका अनुसार सुन बरामद गर्न डिएसपी क्षेत्रीकै नेतृत्वको टोली कालीकोट पुगेको थियो। यता, प्रदेश प्रहरीका डिआइजी महेशविक्रम शाहले सुन प्रकरणमा प्रहरीको संलग्नता देखिए कारबाही गर्ने बताए।