बाजे एक हाँसो अनेक - Akhabaronline
साहित्य

बाजे एक हाँसो अनेक

 

बाजे एक बसे मछेउ सिटमा टाढा कुनै गाउँका
टोपी थ्यो शिरमा भुवा सिमलझैँ सेता बनेका जुँघा
हे बाजे अब देश बन्छ कसरी( यो प्रश्न राखेँ जब
मेरो प्रश्न सुनी अनुत्तरित भै हाँसे मुसुक्कै तब
।१।
हल्ला तेब्बरको थियो सहरमा भो वृद्ध भत्ता कति
मोनोरेल चल्यो कि गाउँघरमा मेट्रो चलेको छ कि
सोधेँ हालत ग्यास पाइपहरू चुल्होहरूको जब
मेरा प्रश्न नसिद्धिदै मरिमरी हाँसे झनै खित्खित
।२।
गोरेको सुनकाण्डको र सुनको माछाहरूको अनि
राखे प्रश्न निजामती तलबको भत्ताहरूको पनि
मोदीको अनुदान औ भ्रमणको चर्चा सुनाएँ जब
लाए ताउ जुँघाभरी मुसुमुसी हाँसेर बाजे तब
।३।
के भन्थिन् मुरली बज्यै हृदयका पोख्छिन् कुरा कोसित
पानीमाथि जहाजको सयरमा बान्ता भएथ्यो कि त
राम्रा स्मार्ट सिटी तथा सहरको चर्चा गरेथेँ जब
बाजे पेट मिची मिची निकटमै हाँसे खितिक्कै तब
।४।
ती रातोदिन गोलगोल सुनिने हल्लाहरूको व्यथा
सोध्दा के छ रहस्य ती सहरका डल्लाहरूको कथा
सत्ताको, प्रतिपक्षको सकलको सोधे कुरा त्यै घरी
हाँसे खै किन हो बसी निकटमै हाहा र हाहा गरी
।५।
चिन्ता देश भविष्यको छ कसरी लाग्ला उकालो भनी
सीता गौतम बुद्धको जब कुरा ल्याएँ चनाखो बनी
तन्द्रा भङ्ग भयो झसङ्ग म भएँ क्वै गीत गाईरहे
गाडी दौडिरह्यो विमान गतिमा बाजे सुसाईरहे
।६।
छन्द:शार्दूलविक्रीडित
रचनाकार: हिरा भट्ट
जन्मस्थल:पन्चेश्वर;६,बिजुल,बैतडी
हाल:बुटवल,रुपन्देही

Related Articles

Back to top button