यौटा तथ्य म आज भन्दछु सखे झर्को नमान्ने भए
आफ्नै हूँ नि सिकारु हूँ चुलुबुले अर्को नठान्ने भए
बाजे एक थिए मुहार रसिलो दार्ही सबै बेर्दथ्यो
सेता सुन्दर झ्यालबाट सुनको जिब्रो लुकी हेर्दथ्यो
।१।
न्यानो भेट भयो खुला मन थियो आनन्द अर्कै दिने
जिज्ञासा जब पोख्न लाग्दछु हरे१ त्यो मोड अर्कै लिने
ए बाजे अब देश पुग्दछ कता यो प्रश्न राख्दा ठुलो
हेर्थे खै किन हो चढेर रुखमा गोलो अरिङ्गालको
।२।
कस्तो हाल छ गाउँमा जुन पुगे ती सिंह दर्बारको
सोधेँ चाल प्रदेश केन्द्र सँगमै स्थानीय सर्कारको
सोध्दा के छ कथा व्यथा पुलिसको चेली बलात्कारको
खोज्थे खै किन हो चढेर रुखमा गोलो अरिङ्गालको
।३।
कर्णाली तिरका नदी तुइनको कस्तो छ बिस्थापन
सोध्दा सुन्दर गाउँमा कति खुले उद्योगधन्दा झन
के हो कुन्नि रहस्य बुझ्न नसकी हाँस्दै थियो बारुलो
बाजेले जब खोज्न तम्सिन पुगे गोलो अरिङ्गालको
।४।
के भन्थिन् मुरली बज्यै हृदयमा भो सम्झना सुन्दर
हास्दै के कति तिर्दछिन् कति पुग्यो भत्ता र भत्ते कर
मोनोरेल र रोजगार कति छन् सोध्दा कुरा गाउँको
ल्याए खै किन हो चढेर रुखमा गोलो अरिङ्गालको
।५।
मेलम्ची कति बर्षकी शिशु भइन् सोध्या छ रे भन्दिनू
हावा भित्र लुकी बसेर बिजुली ती लाज मान्छिन् किन
यस्तै प्रश्न गरेँ अनेक मनका त्यान्द्राविशे जो थियो
बाजेले तब झम्टिए रुख पुगी गोलो अरिङ्गालको
।६।
हेर्दैथेँ जब गाउँमा सहरमा लाखौं अरिङ्गाल छन्
छानामा रुखमा तथा सदनमा झन् खातका खात छन्
भो भो भो अब लेख्नुहुन्न कविता भन्दै थियो बारुलो
छोडेँ लेख्न र खोज्न आज म हिँडेँ गोलो अरिङ्गालको
।७।
छन्द: शार्दूलविक्रीडित
रचनाकार: हिरा भट्ट
जन्मस्थल: पञ्चेश्वर(६,बिजुल बैतडी
