काठमाडौं १८ पुस । कांग्रेस राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ । एमाले(माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो ।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले(माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ । दाहाललाई फकाउन उसले ‘प्रलोभन’ देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेको छ ।
दाहाललाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न ‘अफर’ मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस(माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । दाहालले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो । दाहाल के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ । ‘वाम एकता टुटाउन अनेक तिक्डम र प्रयास जारी नै छन्,’ माओवादी केन्द्रका नेता मणि थापाले अन्नपूर्णसँग भने, ‘तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने देखिँदैन ।’
एमाले(माओवादीबीच पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको, नेताहरूको पदीय व्यवस्थापनमा अझै ठोस प्रगति हुन नसकेको र नयाँ सरकार गठनका लागि अझै महिना दिन लाग्ने देखिएपछि लोकतान्त्रिक गठबन्धनले आफ्नो ‘मुभ’ बढाएको हो । एमाले(माओवादीमा देखिएको अलमलमा खेल्न सकिने विश्वासमा लोकतान्त्रिक गठबन्धन देखिन्छ । अन्नपूणैपोष्टमा खबर छ ।
सोमबार मात्रै पनि दाहालको ‘मुड’ बुझ्न र एमालेसँगको गठबन्धन टिकाउ नहुने सन्देश दिन राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो र कांग्रेस सांसद अमरेश सिंह दाहालनिवास खुमलटार पुगेका थिए । दिउँसो ३ बजे महतो र सिंहले दाहालसँग करिब ४५ मिनेट गोप्य वार्ता गर्दै संविधान संशोधन, गठबन्धनलगायत विषयमा धारणा बुझ्ने प्रयास गरेका थिए । कांग्रेस नेताहरूले दाहाललाई फकाउन प्रयास गरिरहेकै बेला सोमबार महतो र सिंह दाहालनिवास छिरेका हुन् ।