मकालु आधार शिविरमा पुगेका चार जना शेर्पा बेपत्ता - Akhabaronline
मुख्य खबरसमाचार

मकालु आधार शिविरमा पुगेका चार जना शेर्पा बेपत्ता

काठमाडौं १० माघ । मकालु आधार शिविरमा पुगेका चार जना शेर्पा वेपत्ता भएका छन । जर्मन नेपाल फ्रेण्डसिप ट्रेक नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केका आइम ट्रेकका प्रमुख पेम्वा जाङ्बु शेर्पासहित चारजना हिमपातपछि सम्पर्कविहीन भएको कम्पनीका फुनुरु शेर्पाले बताए ।

प्राप्त जानकारी अनुसार उनीहरु चार हजार चार सय मिटरको लाङमालेखर्कदेखि सम्पर्कविहीन भएको कम्पनीले जनाएको छ । ३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्यटलाइट फोनमार्फत् उनीहरुले कम्पनीलाई गराएका थिए । तर पछिल्लो समय सम्पर्क हुन नसकेको शेर्पाले बताए ।

बिहिबार हेलिकप्टर त्यसतर्फ पठाउने तयारी गरे पनि प्रतिकुल मौसमका कारण नसकिएको कम्पनीले जनाएको छ । तीन दिन बित्दा पनि उद्दार हुनु नसकेको भन्दै आफन्तजनले उद्दारमा सरकारको सहयोग मागेका छन् ।

पदयात्रामा खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पेम्वा जाङ्बु, दारिन्जी, पेम्वारिन्जी र पासाङ गेलु शेर्पा रहेका छन् । शरद र बसन्त ऋतुमा मात्र पदयात्रा र पर्वतारोहण हुने गरेपछि सरकारले १२ महिनानै पदयात्राका लागि नेपाल उपयुक्त गन्तव्य भनेर प्रचार थालेको थियो ।

उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए । ताप्लेजुङदेखि सुरु गरी टासीलाप्चा पास, गौरीशंकर हुँदै पदयात्रा गर्ने तयारी थियो । यो पदयात्राका क्रममा दुई हजारदेखि सुरु भएर ६ हजार मिटरसम्म पास गर्नु पर्ने हुन्छ ।

Related Articles

Back to top button