मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका - Akhabaronline
समाचार

मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका


काठमाडौं, १७ पुस । मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन्। दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो। कलंकीस्थित क्यारियर हब इजुकेसन कन्सल्टेन्सीका सञ्चालक ३५ वर्षीय चित्रप्रसाद ढुंगेल मानव तस्करीको अभियोगमा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको चन्द्रगिरि–१ बाट पक्राउ गरेको हो। दक्षिण अफ्रिकाबाट भागेर नेपाल फर्किएका तीनजना पीडितले उजुरी दिएपछि सिआइबीले ढुंगेललाई पक्राउ गरेको हो।

सिआइबी प्रमुख डिआइजी पुस्कर कार्कीले ढुंगेल मानव तस्करको अभियोगमा पक्राउ परेको बताए। ‘दक्षिण अफ्रिकाबाट भागेर नेपाल आएका तीनजना पीडितले उजुरी दिएका आधारमा उनलाई पक्राउ गरेका हौँ। घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने।

प्रहरीका अनुसार ढुंगेलले कन्सल्टेन्सीमार्फत अन्य युवालाई पनि दक्षिण अफ्रिका पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘पीडितहरूले दिएका बयानका आधारमा दक्षिण अफ्रिकामा अरू पनि थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन्। सबै ढुंगेलमार्फत पुगेको बयानबाट खुलेको छ,’ सिआइबीका प्रवक्ता एसपी श्रेष्ठले भने।

दक्षिण अफ्रिकामा नेपाली कामदारका निम्ति श्रम स्वीकृति छैन। यद्यपि आकर्षक रोजगार पाइने लोभमा परी नेपाली युवा भारतको विभिन्न नाका हुँदै दक्षिण अफ्रिका पुग्ने गरेका छन्। ‘दक्षिण अफ्रिकामा नेपाली कामदारका लागि श्रम स्वीकृति लिइएको छैन। तर, पनि थुप्रै नेपाली युवा त्यहाँ गएको भेटिएको छ। तस्कारको प्रलोभनमा परी त्यहाँ पुगेको देखिन्छ,’ श्रेष्ठले भने।

प्रहरीका अनुसार पीडितहरू भारतको दिल्ली हुँदै रोजगारका क्रममा दक्षिण अफ्रिका पुगेका थिए। उनीहरूले कन्सल्टेन्सीलाई प्रतिव्यक्ति सात लाख बुझाएका थिए। हवाईजहाजमार्फत दक्षिण अफ्रिका पुगेका उनीहरूलाई विनापारिश्रमिक काममा लगाइएको थियो। पारिश्रमिक माग गर्दा कम्पनी मालिकले उल्टै मानसिक तथा शारीरिक यातना दिने गरेपछि तीन युवा भागेर नेपाल फर्केका थिए। पानीजहाजमार्फत भारत हुँदै नेपाल आएका उनीहरू तत्काल कन्सल्टेन्सी सञ्चालक ढुंगेलकहाँ पुगे। तर, ढुंगेलले उल्टै ज्यान मार्ने धम्की दिएपछि पीडितहरूले सिआइबीमा उजुरी दिएका थिए। सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले शारीरिक र मानसिक यातनापछि रोजगारीका लागि गएकाहरू नेपाल फर्किएको बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।

Related Articles

Back to top button