मेस्सीका अचम्मित पार्ने रेकर्ड
भदौ १६ – लियोनल मेस्सी, फुटबल जगतको एक उत्कृष्ट खेलाडी हुन् । उनी रेकर्डहरु तोड्नमा पनि माहिर मानिन्छन् । धेरै रकर्ड तोडेका मेस्सीको केही यस्ता रकेर्ड छन्, जुन तोड्न असम्भव लाग्छन् ।
बार्सिलोनाका लागि सर्वाधिक गोल र असिस्ट
लियोनल मेस्सी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीसँगै सबैभन्दा धेरै गोलका अवसर सिर्जना गर्ने खेलाडी पनि हुन् । मेस्सीले बार्सिलोनाका लागि ५ सय ८७ खेलमा ५ सय १० गोल गरेका छन् । साथै १ सय ९४ पटक गोलको अवसर सिर्जना गरेका छन् ।
सबै टिमविरुद्ध गोल
स्पेनिस ला लिगाको २०१२–०१३ को सिजनमा मेस्सीले सबै टिमविरुद्ध गोल गरेका थिए । उनले खेलेका २१ खेलमा सबैमा गोल गरेका थिए । उनको यो रकर्ड तोडिन असम्भव जस्तो लाग्छ । तोडिए पनि यसका लागि निकै समय लाग्ने देखिन्छ ।
पाँच पटक बलोन डि’ओर
मेस्सीले फुटबलकै सर्वाधिक ठूलो मानिने अवार्ड बलोन डि’ओर सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा गरेर पाँच पटक जितेका छन् । सन् २००८, २०१३, २०१४ र २०१६ मा क्रिष्टियानो रोनाल्डोले बलोन डि’ओर जित्दा मेस्सी दोस्रो स्थानमा थिए ।
ला लिगाको एउटै सिजनमा ५० गोल
मेस्सीले ला लिगाको सन् २०११–२०१२ को सिजनमा ५० गोल गरेका थिए । ठूला प्रतियोगितामा मेस्सीको यस्तो रेकर्डले फुटबल समर्थकलाई अचम्मित पारेको थियो । उनले त्यसपछिको सिजनमा पनि ४६ गोल गरेका थिए ।
बार्सिलोनाका लागि एकै सिजनमा ७३ गोल
विश्व फुटबल जगतमै एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान मेस्सीको नाममा छ । सन् २०११–२०१२ को फुटबल सिजनमा मेस्सीले ७३ गोल गरेका थिए । जसमा ५० लिग गोल, तीन कप गोल, १७ अन्तर्राष्ट्रिय गोल र तीन अरु गोल समावेश छन् । उनले त्यो सिजन २८ गोलका अवसर पनि सिर्जना गरेका थिए ।
एक वर्षमा क्लब र देशका लागि ९१ गोल
सन् २०१२ मा मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि गरेर ९१ गोल गरे । जुन विश्व फुटबलमा ऐतिहासिक रेकर्ड हो । यसअघि यो रेकर्ड वायन म्युनिख र जर्मनीबाट सन् १९७२ मा ८५ गोल गरेका जर्ड मुलरको नाममा थियो । ४० वर्षपछि मेस्सीले तोडेको रेकर्ड अब तोडिन सजिलो भने छैन ।