म्याच फिक्सिङको आरोपमा श्रीलंकाका बलिङ प्रशिक्षक जोयसा निलम्बित
एजेन्सी । श्रीलंकाका बलिङ प्रशिक्षक नुवान जोयसामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले म्याच फिक्सिङको आरोप लगाएको छ । श्रीलंकाका लागि ३० टेस्ट र ९५ एक दिवसीय खेल खेलेका जोयसामाथि आइसीसीको एन्टी करप्सन कोड उल्लंघन गरेको तथा अन्तर्राष्ट्रिय खेल मिलेमतो गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
४० वर्षीय पूर्व बलरलाई निलम्बित गरिएको छ भने अपिल गर्नका लागि नोभेम्बर १ बाट १४ दिनको समय दिइएको छ । जोयसाले सन् १९९७ देखि २००७ का बीच श्रीलंकाका लागि सबै फम्र्याटमा १७२ विकेट लिएका थिए । अघिल्लो महिना आइसीसीको एन्टी करप्सन युनिटका प्रबन्ध निर्देशक एलेक्स मार्सलले श्रीलंकामाथि लगाइएको भ्रष्टाचारको छानविन गर्ने बताएका थिए ।
जसअन्तरगत श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्यामाथि भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । उनले अनुसन्धानमा सहयोग नगरिरहेको पनि बताइएको थियो । आइसीसीले उनको फोनको जाँच गर्न माग गरे पनि व्यक्तिगत कारण भन्दै जयसूर्याले फोन दिन मानिरहेका छैनन् ।