काठमाडौं १३ पुस । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संसोधन मस्यौदा समिति गठन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो।
नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो। नियमावलिको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधी र अर्को बैठक बस्ने अवधी बीचको फरक सात दिन भन्दा बढी हुने गरि तोकिने छैन भन्ने उल्ल्लेख छ।
नियमावलिले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै उपाध्यक्षले पनि बैठकको अध्यक्षता गर्ने व्यवस्था सहित नियमावलि संसोधन गर्न लागिएको हो। मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिल कुमारी रावल थापा (पार्वती), परशुराम मेघी गुरुङ, प्रमिला कुमारी,रामनारायण विडारी,विन्दा देवी आले (रान),वृषेशचन्द्र लाल र शेर बहादुर कुँवर सदस्य रहेका छन्।
शुक्रबारको बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ। परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। सो विधेयक माथिको संसोधन प्रस्तावका लागि पुस १६ गते अपरान्ह १ बजे सम्मको समय निर्धारण गरिएको छ ।