राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढ्यो - Akhabaronline
Highlightअर्थबैंकिङ

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढ्यो

काठमाडौँ २३ माघ । राष्ट्रको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिति बढेको पाइएको हो । विसं २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा गत पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । गत पुस मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत रहेको छ ।

Related Articles

Back to top button