लकडाउनमा के, कति र कसरी खाने ?
लकडाउनले गर्दा आजभोलि अधिकांश मनिस घरभित्रै छन् । घरमा बस्दाधेरैलाई के खाऊँ, के खाऊँ हुन्छ । लकडाउन होस् वा नहोस् हामीले सधैँ घरको स्वास्थ्यकर खानेकुरा खानुपर्छ । तर,अहिले यस्तो अवस्थामा पनि धेरैले विभिन्न फुड डेलिभरी सेवाबाट खानेकुरा मगाएर खाइरहेको देखिन्छ, सुनिन्छ । यस्तो फुर्सदिलो समयमा पनि शहरियाहरू घरको खाना खान आनाकानी गरिरहेका छन् । तर, हामीले सकेसम्म घरकै खानेकुरा खानुपर्छ ।
कतिपय अवस्थामा घरमा पकाउँदैमा मात्र खानेकुरा स्वस्थ हुन्छ भन्ने छैन । त्यसका लागि खानेकुरा पकाउँदा स्वस्थ र सफा तरिकाले पकाएको हुनुपर्छ ।‘अरू बेलामा खान पाइँदैन, मीठो–मीठो खाने बेला यही होे’भन्दै चाहिनेभन्दा बढी पकाउने, खाने गर्नुहुँदैन ।
कसैकसैको मीठो पाएपछि कोचेर धेरै खाने बानी हुन्छ । यस्तो बानीले तौल बढाउनुका साथैमधुमेह, उक्त रक्तचापलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्छ । धेरै पकाउँदा एकैचोटि सबै खानेकुरा खान सकिँदैन । खानेकुरा खेर जान्छ । यस्तो अप्ठ्यारो समयमा खानेकुरा फ्याँक्नु भनेको अपराध गर्नुसरह हो । यहाँ एक छाक खान नपाएर छटपटाउने पनि छन् । यी कुरामा ध्यान दिनुपर्छ ।
के र कसरी खाने ?
भात, रोटी थोरै र हरियो तरकारी धेरै खानुपर्छ । हरियो तरकारी अहिले सबैतिर नपाइने भएकाले आफूसँग जति उपलब्ध छ, त्यति नै खानुपर्छ । पोषिलो खानेकुरा घरका सबैले बाँडेर खानुपर्छ ।घरभित्रै बस्ने र काम पनि धेरै नहुने भएकाले अहिले शरीरलाई थोरै क्यालोरी भए पनि हुन्छ । तैपनि, दिनको तीन–चार चोटि खानेकुरा खाने मानिस पनि हुन्छन् । अरू बेलाजस्तै अहिले पनि भात, दाल, दुईतीन थरी तरकारी, अचार बनाएर खानुपर्ने आवश्यकता छैन । भात र एकथरी झोल हालेको तरकारी र अचार पर्याप्त हुन्छ । टुसा उमारेको तरकारीको झोल बनायो भने झन् राम्रो । त्यसले दाल र तरकारी दुवैको काम गर्छ । यसरी खाँदा तौल पनि कम हुन्छ । र, शरीरलाई चाहिने क्यालोरी पनि पुग्छ । कोही–कोही दुई–तीन थरी तरकारी,मासु नभई गाँसै हाल्न नसक्ने पनि हुन्छन् । यो बानी हटाउनुपर्छ ।