शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित - Akhabaronline
समाचार

शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित

पर्वत, १६ भदौ । शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ ।
पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो ।
पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाको थुप्रोले छोपेर हिँड्ने प्रचलन रहेको छ ।
दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम दाहसंस्कारका लागि मोदीवेणीमा ल्याउने गरिन्छ । त्यहाँ ल्याइएका शव कतिपयले नजलाइकन ढुंगाले छोपेर छाड्ने गरेका कारण सो स्थानमा दुर्गन्ध फैलिएको हो ।
विशेष गरी दशनामी समुदायका व्यक्तिको शव आगोले नजलाई ढुंगाले पुरेर छाड्ने गरेको पाइएको छ । त्यस्तै आर्थिक अभाव र जनशक्ति नभएकाहरुले पनि बेवारिसे अवस्थामा घाटसम्म लगेर त्यत्तिकै छाडिदिने गरेका छन् ।
पवित्र कालीगण्डकीको किनारमा शवको अधिकांश भाग देखिनेगरी ढुंगाले छोप्ने र विस्तारै कुहिँदै जाँदा दुर्गन्ध आउने गरेको दाहसंस्कारमा जाने मलामीको भनाइ छ ।
ब्राह्मण, क्षेत्री, दलित तथा जनजाति समुदायले शव जलाउने गरेको भए पनि दशनामी समुदायका शव भने त्यत्तिकै पुरेर छाड्ने गरिएको छ । राम्रोसँग नपुर्दा र वर्षायाममा आएको बाढीले छोपिएको शवलाई समेत बाहिर निकाल्दा दाहसंस्कारका लागि जानेहरुलाई दुर्गन्धका कारण समस्या पर्ने गरेको ठूलीपोखरीका ढाकाराम सापकोटाले गुनासो गर्नुभयो ।

Related Articles

Back to top button