काठमाडौं २२ पुस । सरकारी चिकित्सकले स्वास्थ्य मन्त्रालय घेराउ गरेका छन । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले मन्त्रालय घेराउ गरेका हुन । सरकारी चिकित्सक संघ नेपाल (गोदान) को अगुवाईमा आइतबार १० बजेदेखि चिकित्सकहरूले मन्त्रालय घेराउ गरेका हुन्। घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे कर्मचारी समायोजनमा चिकित्सकहरूलाई सरकारले उपेक्षा गरेको हुनाले आफूहरु आन्दोलनमा आउनुपरेको बताए।
थापाथली प्रसूति गृहका प्रमुख डा जाग्गेश्वर गौतमले पनि आफूहरु लामो समय सम्मको अनुभव र सेवा प्रति सरकारले वेवास्ता गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए। स्वास्थ्य मन्त्रालयको सचिव चिकित्सकनै हुनुपर्ने, कर्मचारी समायोजनमा सरकारी चिकित्सकहरुलाई एक तह बढुवा गर्नु पर्ने, सरकारी अस्पतालहरुलाई प्रतिष्ठान बनाउन नहुने लगायतका माग राख्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।