सिरहाको गोलबजारमा टेलिकमको रिपिटर टावरलाई लक्षित बम भेटियो - Akhabaronline
Highlightमुख्य खबरसमाचार

सिरहाको गोलबजारमा टेलिकमको रिपिटर टावरलाई लक्षित बम भेटियो


काठमाडौ ८ पुस । सिरहाको गोलबजारमा बम फेला परेको छ । गोलबजार नगरपालिका ४ मा रहेको नेपाल टेलिकमको टावरलाई लक्षित गरेर बम फेला परेपछि सेनाको टोलीले उक्त बमलाई डिस्पोज गराएको छ । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले शक्तिशाली प्रेसरकुकर बम आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो ।

गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा भेटिएको बम सेनाले डिस्पोज गरेको हो । मानव बस्तीदेखि नजिकै टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बिहान सबेरै बम भेटिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। बम भेटिएको सूचना पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत समेत बन्द गरी बम डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

बम भेटिएको ठाउँनजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा समेत भेटिएको थियो। मिति, छाप र हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ। सशस्त्र समूहको नाममा आतङ्क सिर्जना गरी आर्थिक संकलन गर्ने समूहले आर्थिक संकलनका लागि पर्चासँगै बम राखेको हुन सक्ने अनुमान गरिएको छ।

Related Articles

Back to top button