स्याउखेतीका लागि ४० लाख बजेट, घर–घरमा विरुवा रोप्न वडाध्यक्षको उर्दी - Akhabaronline
अर्थअर्थतन्रा

स्याउखेतीका लागि ४० लाख बजेट, घर–घरमा विरुवा रोप्न वडाध्यक्षको उर्दी

सिन्धुपाल्चोक स् पाँच वर्षभित्र पाँचै वडामा स्याउखेती व्यापक बनाउने लक्ष्यका साथ भोटेकोशी गाउँपालिकाले ४० लाख बजेट छुट्याएको छ। स्याउको विरुवा रोप्ने काम वडा नं। १ लिस्तीबाट सुरु गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। वडाध्यक्ष मुके शेर्पाले लिस्तीको टोलटोलमा स्याउको विरुवा रोप्न सूचना नै टाँसेका छन्। आफ्नो वडालाई स्याउ उत्पादन नमुना बनाउने भन्दै शेर्पाले स्याउको विरुवा रोप्न सूचना जारी गरेका हुन्।

गौरीशंकर हिमालको हावा सिधै ठोक्किने लिस्तीको १८ सय मिटर माथिका पाखोबारीमा स्याउ खेती गर्ने योजनाअनुसार उनले टोलटोलमा सूचना टाँसेका हुन्। आ–आफ्नो पाखोबारीमा स्याउको विरुवा रोप्नका लागि भदौभित्र खाल्डो खनिसक्न उनले वडावासीलाई अनुरोध गरेका छन्। वडा नं। १ को लिस्ती, पाउगुम्बा, घिप्चे, छगाम, बगाम, छ्याङसिङ, धारापानी, तार्तुङ र साबुखानी टोलमा रहेको प्रायः सबै पाखोबारीमा स्याउको विरुवा रोप्न लागिएको हो। यो वडामा एक हजार घरपरिवार छन्।

१८ सय मिटर उचाइमा रहेका पाँच सय घरधुरीले पहिलोपटक स्याउको विरुवा लगाउने भएका छन्। वडावासीको मागअनुसार स्याउको विरुवा अनुदानस्वरुप निःशुल्क रुपमा उपलब्ध गराउन लागेको शेर्पाले बताए। ‘तातोपानी नाका बन्द भएपछि भोटेकोसीवासी बेरोजगार बनेका छन्,’ उनले भने, ‘स्याउ उत्पादन नहुन्जेलका लागि पनि हामीले अन्य विकल्प सोचेका छौं ।’ माटोको थप परीक्षण र प्राविधिक सहयोगका लागि जिल्ला कृषि विकास कार्यालयलाई अनुरोध गरिएको शेर्पाले जानकारी दिए। चीन र भारतको स्याउ खेती हेरेर फर्केका उनले रेलडिलेस प्रजातिको विरुवा लिस्तीका लागि सुहाउने बताए।
एउटाको सय रुपैयाँ पर्ने सो जातिको स्याउको विरुवाका लागि जुम्ला जिल्लाको कृषि फर्ममा माग गरिसकेको छ। पहिलो चरणमा पाँच हजार विरुवा ल्याउन लागिएको हो। चीनको साङ्सी र भारतको हिमाञ्चल प्रदेशमा पर्ने कुल्लुमुनालीबाट विरुवा ल्याउन ढुवानीको समस्या पर्ने भएपछि सोही प्रजातिका विरुवा जुम्लाबाट ल्याउन लागिएको हो। यो प्रजातिको स्याउको विरुवा रोपेको पाँच वर्षभित्र फल्न थाल्छ। राम्रो स्याहार भएमा ६५ देखि ९० वर्षसम्म उत्पादन लिन सकिन्छ।
 

Related Articles

Back to top button