हावाबाट होइन अब आँखाबाट बिजुली निकाल सरकार - Akhabaronline
Highlightसाहित्य

हावाबाट होइन अब आँखाबाट बिजुली निकाल सरकार

बाँच्दा जीवनका कडा कहरले सन्ताप जो भर्दछन्
पीडा बिर्सन तप्प तप्प गहमा आँखाहरू झर्दछन्
पानी,वायु परम्परागत भयो संदेश नौलो छरी
आँखाबाट निकाल्नुपर्छ बिजुली ती आँसु जम्मा गरी
।१।
गन्दा तीन करोड मात्र जनता आँखा झनै दोब्बर
कैयौं नेत्र रुने बिदेशतिर गै बाँकी घरैका घर
उड्छन निर्झर अश्रुमूल उधिनी ती राहदानी जब
आँखाबाट निकाल्नुपर्छ बिजुली आँखा नियालौं अब
।२।
बग्दै दुस्ख तथा बिछोड पलमा छन् अश्रुधाराहरू
झन् बग्छन् सुखमा तथा मिलनमा हर्षाश्रुधाराहरू
बार्‍है मास बलिन्द्रधार चुहिने आँखाहरू छन् जब
आँखाबाट निकाल्नुपर्छ बिजुली लौ चाल चालौं अब
।३।
आफ्नै हुन् तर सन्धिमा नदनदी बग्छन् पराई बनी
निद्रामा सरकार जो घुरिरह्यो सुन्दैन सुन्दा पनि
बस्छन् आज बिदेशको शरणमा हावा र पानी जब
आँखाबाट निकाल्नुपर्छ बिजुली आँखा निचोरौं अब
।४।
छन् संरक्षित राज्यमा सकल जो गुन्डा खटाएपछि
झार्लान् आँसु डुली डुली मुलुकमा जिम्मा लगाएपछि
केही कारण आँसुको कमि हुँदा चोली उधारे भयो
आँखाबाट निकाल्नुपर्छ बिजुली सम्भावना देखियो
।५।
कालो रात समान छन् मुलुकमा कैयौं बिहानीहरू
हेर्छन् ती दरबार भित्र रमिता राजा र रानीहरू
बर्षौदेखि निरास अक्षरहरू उस्तै छ लेख्ने लिपि
आँखाबाट निकाल्नुपर्छ बिजुली ती अश्रुधारा टिपी
।६।
अग्लो ड्याम छ अस्थिपन्जरहरू खम्बा बनेका थिए
ती खम्बासित तार झैं गरिबका आन्द्राहरू झुन्डिए
हेर्दै बल्ब बल्यो बिभत्स सपनी होला र के कारक
भो भो भो अब चाँहिदैन बिजुली हेक्का रहोस् शासक
।७।
छन्द:शार्दूलविक्रीडित
रचनाकार :हिरा भट्ट
जन्मस्थल : पञ्चेश्वर(६,बिजुल,बैतडी

Related Articles

Back to top button