हेलिकप्टर चढेको ऋण तिर्न नसकेपछि... - Akhabaronline
मुख्य खबरसमाचार

हेलिकप्टर चढेको ऋण तिर्न नसकेपछि…

सिन्धुपाल्चोक ६ माघ । जुगल गाउँपालिका–३ स्थित तेम्बाथानका ५५ वर्षीय दावा शेर्पालाई मुटुको समस्या देखिएपछि घरमा रुवाबासी चल्यो । काम गरिरहेका बेला उनी अकस्मात लडेका थिए । बेहोस भएका उनलाई उपचारका लागि कहाँ लाने भन्दै परिवार चिन्तित भएको आजको कान्तिपुर दैनिकमा समाचार छ  ।

नजिक स्वास्थ्यचौकी थिएन । पुग्नै दुई दिन लाग्छ । जानैपरे पनि भीरको बाटो । तत्काल बोकेर लाने अवस्था थिएन । परिवारले आफन्तको सहयोगमा हेलिकप्टर झिकाए । बिरामी भएकै दिन अस्पताल पुर्‍याउन कठिनाइ भयो । भोलिपल्ट मात्र दावाले अस्पताल देख्न पाए ।

हेलिकप्टरबाट त्रिभुवन विमानस्थलमा बिरामी उतारेर मेडिकल कलेज जोरपाटी पुर्‍याइयो । त्यहाँ उपचार हुन नसकेपछि ओम अस्पताल चाबहिल लगियो । झन्डै एक महिना अस्पताल राखेपछि उनी ठीक भए । परिवारले ऋण गरेर हेलिकप्टरको १ लाख ३० हजार रुपैयाँ बुझाए । ‘उपचार खर्च मात्र ४ लाख लाग्यो,’ श्रीमती सेडोमाले भनिन्, ‘हेलिकप्टर चढ्दा लिएको ऋण अझै तिर्न सकेको छैन ।’ हेलिकप्टरमा बिरामी लाँदाको ऋण १ लाख छ । वर्षको ३० हजार ब्याज बुझाउने गरेको उनले सुनाइन् । आम्दानीको स्रोत केही छैन ।

बारीको उत्पादनले खान पुग्दैन । चामल किनेर खानुको विकल्प छैन । परिवार ५ जनाको छ । ‘ऋण कसरी तिर्ने भन्ने पीरले सताएको छ,’ उनले भनिन्, ‘उपचार गर्दा लागेको ऋण तिर्दातिर्दै मानसिक रोगी भइएला जस्तो छ ।’

यो समस्या उनको मात्र होइन । गाउँमा १ सय ६० घरधुरी छ । बाक्लो बसोबास शेर्पा समुदायको छ । नजिक स्वास्थ्यचौकी नहुँदा सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ ।

उता निमाटोलकी ६३ वर्षीया छिरी शेर्पा २०७२ माघमा टाउको दुखेर थला परिन् । बाटो अप्ठ्यारो भएकैले बोकेर स्वास्थ्यचौकीसम्म लाने आँट गाउँलेले गरेनन् । छिरीलाई पनि परिवारले ऋण गरेर हेलिकप्टरमा उपचारका लागि काठमाडौं लगे । त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भयो । एक महिनासम्म अस्पताल बसेर गाउँ फर्किए पनि रोग ठीक नभएको उनले दुस्खेसो पोखिन् । ‘सबै गरेर उपचार खर्च मात्र ५ लाख लाग्यो,’ उनले बिलौना गर्दै भनिन्, ‘अहिलेसम्म तिर्न सकेको छैन ।’

अहिले ब्याज तिर्दै बसेको उनले सुनाइन् । ब्याज तिर्न पनि ऋण लिनुपर्ने बाध्यता छ । हेलिकप्टरमा मात्र १ लाख २० हजार खर्च लाग्यो । हेलिकप्टर चढदा लागेको ऋण मात्र तिर्न १ लाख छ । अहिले परिवारलाई कताबाट खर्च जुटाएर ऋण तिर्ने भन्ने पिरलो छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button