१२ वर्षका यी बालक बोल्न र हिँड्न सक्दैनन् तर आँखाको इशारामा एक वर्षमा लेखिदिए किताब
बोल्न हिडन नसक्ने ब्यक्तिले किताब तयार पारेभन्दा पत्यार नलाग्न सक्छ । तर वास्तविक त्यही हो । इंगल्याण्डमा बोल्न नसक्ने र राम्रोसँग हात नचल्ने १२ वर्षका एक बालक ले एउटा किताब लेखेर विश्वभरी चर्चित बनेका छन् ।
जन्मजात गम्भीर मस्तिष्कघातबाट पीडित जोनाथन ब्रायन ह्विलचेयरको सहारामा हिँड्छन् । आफ्नो शरिरलाई हल्लाउन पनि नसक्ने उनले आँखाको इशाराले ‘आई क्यान राइट’ नामक किताब लेखेका छन् ।
जोनाथन ब्रायनका आमा–बुवा पहिले उनीसँग इशारामा कुरा गर्दथे । शिक्षकले उनलाई पढाउन अत्यधिक गाह्रो भएको बताउँथे । जोनाथनकी आमा च्यान्टल ब्रायनले हिम्मत हारिनन् । उनी छोरालाई सधैं स्कूल लिएर जान्थिन् र पढाउने कोसिस गर्थिन् । ९ वर्षको उमेरमा जोनाथनले केही शब्द उच्चारण गर्न सिके । त्यसपछि इ–ट्रान फ्रेमको मद्दतले उनी मानिसहरुसँग कुरा गर्न थाले । इ–ट्रान फ्रेम कलर कोडिङ भएको एक पारदर्शी प्लाष्टिक बोर्ड हो । भिन्न क्षमता भएका व्यक्तिले यसमा बनेको चित्र र शब्दलाई आँखाको इशाराले बताउने गर्छन् । यसरी नै उनी सोधिएको प्रश्नको जवाफ दिने गर्छन् ।
किताब लेख्न एक वर्षः
जोनाथनकी आमाका अनुसार उनीहरुले छोराको आँखाको इशारा हेरेर, उनले भन्न खोजेका कुरालाई लेखिएको हो ।
जोनाथनको किताबमा उनकी आमाको पनि बयान छ । यसमा उनले जोनाथनको सुरुवाती जीवन र उनले अक्षर कसरी चिने भन्ने बारे बताएकी छिन् । त्यसपछि जोनाथनले आफ्नो कथा सुरु गरेका छन् ।
उक्त किताबमा जोनाथनले इसाई धर्मलाई आफ्नो जीवनको महत्वपूर्ण पाटो भन्दै यसबारे पनि लेखेका छन् ।
किताब लेख्न एक वर्ष लागेको उनकी आमा बताउँछिन् । किताब जुलाई १२ तारिखमा सार्वजनिक भएको हो जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको उनको भनाई छ ।
‘उनको शरिरले धेरै काम गर्न सक्दैन तर उनको दिमाग सक्रिय नभएको भने होइन,’ उनकी आमा भन्छिन् ।
जोनाथनले अरुलाई प्रेरित गर्न किताब लेखेको बताए ।
‘म बोल्न नसक्नेहरुको आवाज हुँ,’ उनले इ–ट्रानको मद्दतले सिएनएनलाई बताए ।
‘एक १२ वर्षको बच्चाले किताब लेखेको भन्दा धेरैलाई अचम्म लाग्ला,’ उनकी आमाले भनिन् । ‘हामीलाई उनीमाथि गर्व छ ।’