‘अब हिन्दु राष्ट्रको मुद्दा लिएर जाऔँ’ - Akhabaronline
SLIDERमुख्य खबर

‘अब हिन्दु राष्ट्रको मुद्दा लिएर जाऔँ’


काठमाडौं २ पुस , नेपाली कांग्रेसमा हिन्दु राष्ट्रको विषयले प्रवेश पाउनु नौलो होइन। कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले हिन्दु राष्ट्रको विषयमा अभियान नै चलाए। कांगेसको नेतृत्वमा २०६२/०६३ मा जनआन्दोलन सम्पन्न भएपछि धर्मनिरपेक्षतासहितको गणतन्त्रात्मक नेपालको घोषणा भएको थियो। त्यसपछि खड्काले जति अभियान चलाए पनि त्यो अभियान अभियानमै सीमित बन्यो।

हिन्दु धर्मको विषय कांग्रेसभित्र खड्काकै गुटमा सीमित थियो तर मंसिर २९ गतेदेखि जारी महासमिति बैठकमा भने हिन्दु धर्मको विषयले औपचारिक प्रवेश पाएको छ। धर्मका विषयमा अधिकांश महासमिति सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। त्यसमा केहीले धार्मिक स्वतन्त्रताको मुद्दालाई लिएर कांग्रेसअघि बढ्नुपर्छ भन्ने धारणा राखिरहेका थिए भने केहीले हिन्दु राष्ट्रकै मुद्दा लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। बैठकमा बोल्ने अधिकांशले हिजोको परिस्थिति अहिले नरहेकाले अब हिन्दुराष्ट्रको मुद्दालाई कांग्रेसले ब्युँताउनुपर्ने धारणा राखेका थिए। शान्ति प्रक्रियामा हस्ताक्षर गर्दा देशमा शान्ति स्थापना गर्नुपर्ने भएकाले धर्मनिरपेक्ष राष्ट्रमा सहमति भएको भए पनि अब धार्मिक स्वतन्त्रतालाई कांग्रेसले मुख्य एजेन्डा बनाउनुपर्ने माग उठेको हो। ‘नेपाल विश्वको हिन्दु राष्ट्र हो।

हिजोको परिवेशमा शान्ति स्थापना गर्नुपर्ने थियो’, सुर्खेतकी महासमिति सदस्य पार्वती गिरी भन्छिन्, ‘त्यो बेला बाध्यताले कांग्रेसले पनि हस्ताक्षर गर्‍यो। हिजोको जस्तो अवस्था छैन। ८० प्रतिशत हिन्दु भएको देशमा हिन्दु राष्ट्रको मुद्दा लिएर जाँदा प्रमुख एजेन्डा हुन सक्छ।’ महासमिति सदस्यहरू पनि कतिपयले हिन्दु धर्म नेपालको मुख्य पहिचान भएको बताउँछन्। हिन्दु धर्मको विकासका लागि धार्मिक स्वतन्त्रतासहित कांग्रेसले हिन्दु राष्ट्रको मुद्दालाई लिएर अघि बढ्नुपर्ने बैतडीमा महासमिति सदस्य उत्तरबहादुर ऐर बताउँछन्। ‘हरेकको अआफ्नै पहिचान हुन्छ। नेपाल ऋषिमुनिहरूको ध्यान केन्द्र हो’, उनले भने, ‘त्यस कारण नेपालीको पहिचान धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हो।

यहाँ ओमकार परिवारको ९३ प्रतिशत बसोबास छ। यहाँ सबै जातजाति, धर्म समेटिन्छन्।’ संविधान निर्माणताका धर्मनिरपेक्षताको एजेन्डा कांग्रेसको नभएको उनको दाबी छ। ‘संविधान सबैको सहमतिमा बनेको हो। धर्मनिरपेक्ष कांग्रेसको एजेन्डा नहुन पनि सक्छ’, उनले भने, ‘संविधान संशोधन गर्न सकिने दस्तावेज पनि हो। त्यस कारण अब संविधानलाई संशोधन गरेर हिन्दु राष्ट्र समेट्नुपर्छ।’ पार्टीलाई सुदृढीकरण गर्न र विगतका कमजोरी सच्याएर अगाडि बढ्न बोलाइएको बैठकमा हिन्दु धर्मको एजेण्डा जबर्जस्त बनेपछि नेतृत्वलाई भने दबाब परेको छ। हिन्दु राष्ट्रका लागि बैठक स्थलबाहिर थालिएको हस्ताक्षर अभियानमा ८०० को संख्यामा महासमिति सदस्यले हस्ताक्षर गरेका छन्।

धर्मको स्वतन्त्रता हुँदा जनताहरू धर्मले बाँधेको बन्धनभन्दा बाहिर रहेका कारण हत्या, हिंसाका घटना बढेको धारणा पनि महासमिति सदस्यहरूले राखिरहेका छन्। ‘धर्मनिरपेक्षता अहिले पाप सापेक्षतामा गएको छ। धर्म छाडेका कारण अहिले देशमा हत्या हिंसालगायत अपराधजन्यका घटना बढेको छ’, संखुवासभाका युवा महासमिति सदस्य शम्भूहरि बाँस्तोलाले भने, ‘त्यस कारण म जस्तो युवाले शान्तिका लागि धर्मको लाइन पक्रनुपर्ने बाध्यता आएको छ।’ देश धर्मनिरपेक्षतामा जाँदा धर्मका नाममा देशमा हिंसा भड्कने विचार राख्ने पनि कम छैनन्। हिन्दु धर्म मान्ने बढी भएको देशमा राज्यले धर्मका नाममा द्वैध चरित्र देखाएकाले अब हिंसा भड्कन समय नलाग्ने पर्सा ठोरीका महासमिति सदस्य वृहस्पतिकृष्ण श्रेष्ठले बताए। ‘धर्मकै कारण यो देशमा सम्प्रदायिक हिंसा आउन सक्छ।

धर्मको विषयमा राज्यले द्वैध चरित्र लिएको छ। अहिलेको सरकारले केही समयअघि इसाईको प्रचार गर्‍यो’, उनले भने, ‘यसले हिन्दु धर्मप्रति आस्था राख्नेमाथि चोट परेको छ। यसले गर्दा द्वन्द्व हुनसक्छ।’ तर केही महासमिति सदस्यले भने हिन्दु धर्मको एजेन्डा उठाउँदैमा पार्टी कहीँ नजाने बताएका छन्। धर्मको नाममा राजनीति गर्न नहुने महासमिति सदस्य तथा भक्तपुर सभापति दुर्लभ थापाको भनाइ छ। ‘राज्यको कुनै धर्म हुँदैन। राज्यले सबै धर्मको सम्मान गर्नुपर्छ। हिजो हिन्दु धर्म हुँदा के भएको थियो र आज धर्म निरपेक्ष हुँदा पनि के भएको छ र!’, उनले भने, ‘धार्मिक रूपमा आन्दोलन, हिंसा नभएको मुलुकमा धर्मको नाममा राजनीति गर्नुहुँदैन।’

AKHABAR ONLINE 

Related Articles

Back to top button