उनले संसार देख्दैनन तर, भारी बोकेरै परिवार पाल्छन्

समाचार

मोरङ २९ भदौ । दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिनुहुन्छ, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् ।

तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिनुहुन्छ । त्यहाँ रु ५० हजार देखि ६० हजारको सामान किन्छन ।

उहाँ नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउनुहुन्छ र नेपालका बजारमा ती सामान बेच्नुहुन्छ । एकपटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुने उहाँको भनाइ छ । उहाँले आफ्ना बूढा भएका बुबाआमा छोराछोरी पढाउने र भरणपोषण गर्दै आउनुभएको छ । संसार देख्न नसक्नेहरु साङगभन्दा सक्षम छन् ।

उनीमात्र होइन, मोरङ तेतरीयाका दृष्टिविहीन ३० वर्षीय सरोज चौधरी, बेलबारीका दृष्टिविहीन अनिल चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिविहीन अभिलेश कर्ण तथा सन्देश शर्मा भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा विक्री गरेर आफ्नो परिवार चलाइरहेका छन ।

उनीहरुले भारतको जोगवनीबाट किरानाका सामग्री किनेर भरियाको जस्तो भारी बोकेर नेपाल आउछन र बजारबजारमा भरियाजस्तै गरेर पुगी चिनीलगायतका सामग्री केही सस्तोमा बेच्छन।

उहाँहरुले आफ्ना बूढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाएका छन । भारी बोकेर रानी— विराटनगर सडकखण्डमा भेटिनुभएका सरोज चौधरी भन्छन , “हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भएपनि परिवार पालिरहेका छौँ ।” गोविन्दले मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन ।

उहाँले किरानाका सामान बेचेरै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउनुभएको हो । उनीहरु जन्मँदै दृष्टिविहीन हुन । आफ्नै भारी बोकेर जीविका चलाउने दृष्टिविहीन उनले बिए पास गरेका छन ।