श्रीलंकाको कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल प्रयोगमा समेत रोक, मृत्यु हुनेको संख्या १६० पुग्यो

अन्तर्राष्ट्रिय मुख्य खबर

काठमाडौ ८ बैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । आइतबार दिउसो फेरि बम बिस्फोट भएपछि त्यहाको सरकारले कर्फ्यू आदेश जारी गर्नुका साथै सामाजिक सञ्जाल प्रयोगमा समेत रोक लगाएको छ ।
लगातार विस्फोट हुन थालेपछि त्यहाको सरकारले सुरक्षा व्यवस्था कडाइ बनाएको हो । आइतबार दिउसो राजधानी कोलम्बोस्थित देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको थियो ।

यसैबीच आइतबार बिहान विभिन्न ठाउँमा श्रृखलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ । हमलापरी ९ जना विदेशीको पनि ज्यान गएको छ । राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा ५०० भन्दा बढी घाइते भएका छन्।

पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएको थियो । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका बीबीसीले जनाएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएका थिए । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले उक्त हमलाको निन्दा गर्दै जाँचको लागि सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।

AKHABAR ONLINE TV

Loading...