कंगोमा इबोला महामारी, ज्यान गुमाउनेको संख्या हजार नाघ्यो

Highlight अन्तर्राष्ट्रिय

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको महामारी चलेको छ । इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै ज्यान गुमाउनेको संख्या हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको अगस्टदेखि इबोला महामारी फैलिएको हो । जारी महामारी कंगोको इतिहासमा दोस्रो भयानक इबोला महामारी हो । कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणमा लिनका लागि भइरहेका प्रयासहरु अविश्वास र हिंसाका कारण समस्या भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ( का उप–निर्देशक डा। माइकल रायनले बताएका छन् ।
गएको जनवरी यता कंगोमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीमाथि ११९ वटा आक्रमण भएको डा। रायनले जानकारी दिए ।
स्वास्थ्यकर्मीसँग खोप प्रसस्त रहे पनि हिंसाका कारण समस्या भइरहेको छ ।अहिलेसम्म स्वास्थ्यकर्मीले एक लाख जनामा खोप लगाइसकेका छन् ।
कंगोसहित पश्चिम अफ्रिकी देशमा सन् २०१३ देखि २०१६ सम्म फैलिएको इबोला महामारीका कारण ११ हजार ३१० जनाको ज्यान गएको थियो ।
कंगोमा अहिले दादुराको महामारी पनि फैलिएको छ । दादुराका कारण पनि एक हजार जनाको ज्यान गएको छ । ५० हजारमा संक्रमण भएको छ । देशका २६ मध्ये १४ राज्यमा दादुराको महामारी फैलिएको हो ।